इरानद्वारा होर्मुज जलडमरूमध्य बन्दको घोषणा, एक जहाजमाथि आक्रमण भएको दाबी
3k
Shares
तेहरान । इरानले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गर्दै स्वीकृत समुद्री मार्गबाहिर यात्रा गरेको एक जहाजमाथि आक्रमण गरी नियन्त्रणमा लिएको दाबी गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरी समुद्री सुरक्षामा जोखिम सिर्जना गरेको जहाजमाथि कारबाही गरिएको उल्लेख गरिएको छ। यद्यपि, उक्त जहाजको नाम, राष्ट्रियता वा अन्य विवरण सार्वजनिक गरिएको छैन।
आईआरजीसीका अनुसार केही जहाजले स्वीकृत समुद्री मार्ग छाडेर अनधिकृत बाटोबाट होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास गरेका थिए। ती जहाजलाई आफ्नो मार्ग सच्याउन चेतावनी दिइए पनि बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरिएको छ।
इरानले अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र नयाँ सूचना जारी नभएसम्म होर्मुज जलडमरूमध्य बन्द रहने जनाएको छ। साथै, इरानविरुद्ध कुनै पनि सैन्य वा आक्रामक गतिविधि भए त्यसको कडा जवाफ दिइने चेतावनी पनि दिएको छ। आईआरजीसीले यस क्षेत्रमा रहेका शत्रुपक्षका नयाँ सैन्य अड्डासमेत आफ्नो निशानामा पर्ने चेतावनी दिएको छ।
यता, अमेरिकी वरिष्ठ अधिकारीहरूले इरानसँग होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूमाथि आक्रमण रोक्ने सार्वजनिक प्रतिबद्धता जनाउन आग्रह गरेका छन् ।
अमेरिकाले जलमार्गका सबै समुद्री लेन कुनै शुल्क नलिई निर्बाध रूपमा सञ्चालन हुने सुनिश्चित गर्न पनि इरानलाई दबाब दिएको बताइएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ।