बर्दिबास साक्षर नगर घोषणा, महोत्तरीको चौथो साक्षर स्थानीय तह

1.5k Shares

महोत्तरी । बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ। यससँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ । शनिबार आयोजित कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापाले बर्दिबास नगरपालिकालाई साक्षर नगर घोषणा गरे ।

विद्यालय जाने उमेर समूहबाहेक १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत नागरिक साक्षर भएपछि बर्दिबासले साक्षर नगरको मान्यता प्राप्त गरेको हो । नगरपालिकाले साक्षरताका १२ वटै सूचक पूरा गरेको जनाएको छ ।

नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीका अनुसार नगरको कुल जनसङ्ख्या ७५ हजारमध्ये २५ हजार विद्यार्थी ८० वटा विद्यालयमा औपचारिक शिक्षामा अध्ययनरत छन् । १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताको मापदण्ड पूरा गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख निर्मल घिमिरेले जिल्लाका स्थानीय तहमा साक्षरता अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८३/८४ भित्र जिल्लाका ६० प्रतिशत स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका रहेका छन्। यसअघि मनराशिशवा, मटिहानी र जलेश्वर नगरपालिका साक्षर घोषणा भइसकेका छन् ।

सम्बन्धित समाचार