ट्रम्पलाई ट्रफी हस्तान्तरण गराउने निर्णयले फुटबल वृत्तमा बहस

4.9k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को फिफा विश्वकप फुटबलको फाइनलमा विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने तयारी भएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आगामी जुलाई १९ मा हुने फाइनलमा आफू र ट्रम्पले संयुक्त रूपमा विजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्ने बताएका छन् । फाइनल अमेरिका–न्युयोर्क–न्युजर्सी रंगशालामा हुनेछ ।

यस निर्णयको आलोचना हुनुका मुख्य कारण फिफाले लामो समयदेखि अपनाउँदै आएको परम्परा र राजनीतिक तटस्थताको सिद्धान्त हो । सामान्यतया विश्वकप ट्रफी समारोहमा फिफाका अध्यक्ष र सीमित खेल अधिकारी मात्र सहभागी हुने गर्छन्। कुनै राष्ट्रप्रमुखलाई ट्रफी हस्तान्तरणको प्रमुख भूमिकामा राख्ने अभ्यास छैन ।

आलोचकहरूले यसलाई खेलभन्दा राजनीतिलाई प्राथमिकता दिएको सन्देशका रूपमा व्याख्या गरेका छन् । इन्फान्टिनो र ट्रम्पबीचको निकट सम्बन्धका कारण पनि फिफाको निर्णयमाथि प्रश्न उठाइएको छ ।

गत वर्ष सम्पन्न फिफा क्लब विश्वकपमा पनि ट्रम्प ट्रफी हस्तान्तरणपछि विजेता टोलीसँगै मञ्चमा उभिएका थिए। उक्त घटनाले खेलाडी र समर्थकमाझ मिश्रित प्रतिक्रिया पाएको थियो। विश्वकप फाइनलमा पनि त्यस्तै अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गरिएको छ ।

फिफाले भने ट्रम्पको सहभागिताबारे विस्तृत टिप्पणी गरेको छैन । इन्फान्टिनोले अमेरिका विश्वकपको सहआयोजक राष्ट्र भएकाले राष्ट्रपतिको उपस्थितिलाई स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् ।

यद्यपि फुटबल विश्लेषक र समर्थकहरूको एक समूहले विश्वकपजस्तो विश्वव्यापी प्रतियोगिताको समापन समारोहलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गर्दै आएको छ ।

सम्बन्धित समाचार