सिंगापुर । सिंगापुर एयरलाइन्सकी एक एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक भारतीय नागरिकलाई सिंगापुरको अदालतले छ महिनाको जेल सजाय सुनाएको छ।
अदालतले ३५ वर्षीय आकाश तिवारीलाई उडानका क्रममा एयर होस्टेसमाथि अनुचित व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत फेब्रुअरीमा थाइल्यान्डबाट सिंगापुरतर्फ गइरहेको विमानमा तिवारीले महिला क्रु सदस्यलाई पटक–पटक अनुचित रूपमा छोएको र विरोधपछि पनि उनको पछाडि लागेर मानसिक तनाव सिर्जना गरेको अभियोजन पक्षको दाबी थियो।
घटनापछि विमान सिंगापुर अवतरण गरेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो। अदालतले तिवारीलाई पीडितलाई १ हजार २७० सिंगापुर डलरभन्दा बढी क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ। एजेन्सी