अमेरिका–इरान वार्तापछि हर्मुज जलघाँटीमा इरानको प्रशासनिक नियन्त्रण कायम रहने दाबी

2.4k Shares

 एजेन्सी । स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा भएको अमेरिका–इरान वार्तापछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमै रहने घोषणा गरेको छ।

इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघिको अवस्था अब नफर्कने र अन्तर्राष्ट्रिय कानुनअनुसार जलघाँटी इरानकै व्यवस्थापनमा रहने बताएका छन्। उनका अनुसार वार्ताबाट हर्मुज जलघाँटी, लेबनानको द्वन्द्व, तेल कारोबार तथा रोक्का सम्पत्तिसम्बन्धी विषयमा केही प्रगति भएको छ।

वार्तामा अमेरिका र इरानबीच समुद्री मार्ग खुला राख्ने, सुरक्षा सुनिश्चित गर्ने तथा सञ्चार संयन्त्र स्थापना गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ। मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा तनाव घटाउन दुवै देशबीच प्रत्यक्ष सम्पर्क व्यवस्था गर्ने समझदारी पनि बनेको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षकलाई पुनः काम गर्न दिने जानकारी दिएका छन्। त्यससँगै अमेरिकाले इरानी तेलमाथिको केही प्रतिबन्ध अस्थायी रूपमा हटाएको बताइएको छ।

सम्झौताअनुसार इरानले आंशिक आर्थिक राहत पाउने र विदेशमा रोक्का सम्पत्ति फुकुवा हुने अपेक्षा गरिएको छ। ओमानले पनि मध्यस्थताको भूमिका खेलेको बताइएको छ।

यसअघि बन्द गरिएको हर्मुज जलमार्ग पछिल्ला सहमतिपछि पुनः सञ्चालनमा आएको थियो। तर लेबनानमा भएको इजरायली आक्रमणपछि तनाव फेरि बढेपछि इरानले पुनः बन्द गर्ने चेतावनी दिएको थियो।

कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार व्यापारिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न र गलत बुझाइबाट हुने तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको छ । समुद्री यातायात निगरानी संस्थाहरूका अनुसार सहमतिको चर्चा बढेसँगै हर्मुज जलघाँटीमा जहाज आवागमन पुनः तीव्र भएको छ । एजेन्सी (रासस/एएफपी)

 
 
 
 
सम्बन्धित समाचार