दक्षिण कोरियामा मार्सल ल प्रकरण : पूर्व कानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल

1.4k Shares

एजेन्सी । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ । सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ ।

यो फैसला सोमबार सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको हो। राष्ट्रिय समाचार संस्था योन्हापका अनुसार अदालतले पार्कलाई सन् २०२४ मा युन प्रशासनले लागू गरेको मार्सल लसँग सम्बन्धित विद्रोही गतिविधिमा सहभागी भएको निष्कर्ष निकालेको छ ।

पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा घोषणा गरेको मार्सल ल करिब छ घण्टा मात्र कायम भएको थियो । संसद् सदस्यहरू राष्ट्रिय सभामा पुगेर आपत्कालीन बैठकमार्फत उक्त निर्णय खारेज गरेपछि मार्सल ल अन्त्य भएको थियो । त्यस घटनापछि दक्षिण कोरिया गम्भीर राजनीतिक संकटमा परेको थियो।

युनमाथि विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलिरहेको छ र उनी हाल हिरासतमा रहँदै अपिल प्रक्रिया अघि बढाइरहेका छन् । यसै महिनाको सुरुमा उत्तर कोरियातर्फ ड्रोन पठाएर राष्ट्रिय संकट सिर्जना गर्न खोजेको आरोपमा उनलाई थप ३० वर्षको जेल सजाय सुनाइएको थियो ।

अभियोजन पक्षका अनुसार मार्सल ल लागू भएको प्रारम्भिक समयमा पार्कले न्याय मन्त्रालयका अधिकारीहरूको बैठक बोलाएका थिए र सरकारविरोधी व्यक्तिहरूलाई पक्राउ गर्न कारागार क्षमतासमेत जाँच्न निर्देशन दिएका थिए ।

अदालतका अनुसार कानूनमन्त्रीको हैसियतमा उनले मार्सल ल कमान्डसँग सहकार्य गर्न निर्देशन दिएका थिए र आदेश कार्यान्वयन हुने विश्वासका आधारमा काम गरेका थिए। अभियोजन पक्षले पार्कका लागि २० वर्ष जेल सजाय माग गरेको थियो। तर अदालतले उनलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको कठोर सजाय सुनाएको हो ।

मार्सल ल घोषणापछि दक्षिण कोरियामा राजनीतिक संकट चर्किएको थियो। देशभर विरोध प्रदर्शन भएका थिए भने सेयर बजारमा समेत गिरावट आएको थियो । यस प्रकरणसँग सम्बन्धित अन्य उच्च अधिकारीहरू पनि विभिन्न सजाय भोगिरहेका छन् । पूर्वप्रधानमन्त्री हान डक–सुलाई १५ वर्ष र पूर्वगृहमन्त्री ली साङ–मिनलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।

पछिल्ला फैसलाहरूले मार्सल ल प्रकरणमा संलग्न उच्च अधिकारीहरूमाथि दक्षिण कोरियामा कानूनी कारबाही अझ कडा बन्दै गएको संकेत गरेका छन् ।

सम्बन्धित समाचार